रङ्ग

 ऊ

प्रकृतिको सजावट हो,

हरेक वस्तुको बनावट हो,

सबैको शाश्वत सत्य हो,

संगीतिक बाजा हो,

सुख र खुशीको आशा हो,

सबैको अस्तित्वको परिभाषा हो।


बोलीमा ऊ माधुर्य मिठास हो,

रोगीका लागि ऊ छुमन्तर गर्ने ओखती हो,

होलीमा ऊ सबैको सुसुप्त चाहना हो।


रित्तो छ भने, पूर्ण नभए पनि

आधा बनाई दिन्छ।

फिका छ भने,

त्यसमा चमक भरिदिन्छ।

ओइलिएको छ भने,

त्यसलाई ताजा बनाइदिन्छ।

अलप भएको छ भने,

त्यसलाई फेरि ब्युताइ दिन्छ।


कुनै आकार त छैन उसको,

तर पनि विभिन्न रूप मिलेर

सबै कुरा साकार बनाई दिन्छ।

सपना होस् या कल्पना,

छरिन पाए भने,

इन्द्रेणीभन्दा पनि उच्च श्रेणीमा पुर्याइ दिन्छ।


चञ्चल आँखाका डिलमा सीमारेखा झैँ धसिन्छ,

त्यही आँखाका परेलीमा अझै लपेटिन्छ।

ती नरम रसिला अधरमा लाली बनी पोतिन्छ,

अनि त सबैलाई लोभ्याउने—

उसको सुन्दरतालाई झन् कामुक बनाइदिन्छ।


निधारमा सुन्दरी टिका बनी अडिन्छ,

गलालाई नानाभाँती गहना बनी घेराबन्दी गरिदिन्छ।

अझ च्याट्ट मिलेको पहिरन भए,

मोरीलाई स्वर्गकी अप्सरा झैँ बनाइदिन्छ।


बडा चाड दशैंमा ऊ,

सबैको शिरमा चिरञ्जीवी आशीर्वाद बन्छ।

तिहारमा ऊ,

निधारको सप्तशृंगार सजाउन व्यस्त हुन्छ।

दीपावलीमा ऊ,

चारैतिर झिलिमिली दीप जलाउन मस्त हुन्छ।

होलीमा ऊ,

हिमाल, पहाड, तराईलाई एक बनाइदिन्छ।


मानिसका वर्ण अनि पहिरनका आवरणमा

ऊ जातीय पहिचान बन्छ।

सबै मानिस समान हुन् भनी

ऊ रगतमा एकनासले रातो हुन्छ।

सबै प्राणीका सनातन धर्म—जीवन जिउन,

ऊ सबैको मूलमन्त्र बन्छ।


गगनमा ऊ छर्लंग हो,

धर्तिमा ऊ खुशीको बहार हो।

होलीमा फेरि ऊ उत्सवको बहाना हो।

ऊ सबैको अस्तित्वको परिभाषा हो।


ऊ आफैं रंगीविरंगी,

आफ्नो रूप देखेर आफैं दङ्ग पर्छ।

कसैसँग मिसिएमा,

अरूमा उसको गुण सरक्क सार्छ।


सालिनता होस् या चञ्चलता,

दुवै कणकणमा टल्किन्छ।

सादा होस् या बुट्टेदार,

दुवै कला प्रचुर रूपमा कोर्छ।


ऊ सबैलाई दङ्ग पार्छ,

ऊ सबैको ध्यान भंग पार्छ।

ऊ विविध रूपको छ,

तर उसको एउटै नाम छ -

रङ्ग!


ऊ रङ्ग हो,

ऊ रङ्ग हो।।


bir_.del🩺

Comments

Popular posts from this blog

May I Borrow Today for Tomorrow?

वार्तालाप ( अतितको कल्पनाबाट साभार)